१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार २१:१२

एजेन्सी। न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटलगायत सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन अघि बढाएको छ। सरकारले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक सम्बन्ध र शिक्षामा नकारात्मक असर पारिरहेको भन्दै उमेर सीमा तोक्ने प्रस्ताव अघि सारेको हो।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावलाई बेवास्ता गर्न नसकिने बताएका छन्। उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका प्रत्येक तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्। सामाजिक सञ्जालका कारण बालबालिका हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा परेको प्रधानमन्त्री लक्सनको भनाइ छ।

Advertisement

प्रस्तावित कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ता १६ वर्षभन्दा माथिको हो भन्ने सुनिश्चित गर्नुपर्नेछ। उमेर प्रमाणीकरणका लागि खाता विवरण, अनुहारका आधारमा उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्रजस्ता माध्यम प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ।

नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी वार्षिक राजस्वको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। तर बालबालिका वा उनीहरूका अभिभावकलाई भने कुनै दण्ड नदिइने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताएकी छन्।

यद्यपि, प्रस्तावित कानुनलाई लिएर सरकारभित्रै राजनीतिक मतभेद देखिएको छ। सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले प्रस्तावको विरोध गरेका छन्। अस्ट्रेलियामा यस्तै व्यवस्था लागू भए पनि प्रभावकारी नभएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ।

मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गरिने र कुन–कुन सामाजिक सञ्जाललाई प्रतिबन्धको दायरामा राखिने भन्ने विषयमा थप स्पष्टता आवश्यक रहेको जनाएको छ। लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण झन् जटिल बन्दै गएकाले युवाको सुरक्षासँग सम्बन्धित जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागू गरेको थियो। त्यससँगै अस्ट्रेलिया यस्तो प्रतिबन्ध लागू गर्ने विश्वकै पहिलो देश बनेको थियो। बेलायत र फ्रान्सलगायतका देशले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने उपाय अघि बढाइरहेका छन्।

तर अस्ट्रेलियाको अनुभवबारे प्रश्नसमेत उठेको छ। गत जुनमा प्रकाशित एक अध्ययनले प्रतिबन्ध लागू भएपछि अस्ट्रेलियाका किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो। न्युजिल्यान्ड सरकारले भने बालबालिकाको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै प्रस्तावित कानुन अघि बढाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
विद्युत् महसुल घटाउने तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×