बागमतीमा नेकपा, एमाले र राप्रपाबीच सत्ता सहकार्यको समझदारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार २१:२४

हेटौंडा । बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सहकार्यको समझदारी भएको छ।

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेशसभा दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री किरण थापा मगरले हस्ताक्षर गरेका छन्।

Advertisement

समझदारीअनुसार सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा प्रदेश सरकारमा बढीमा आठ मन्त्रालय कायम गरिनेछ। प्रदेशसभामा रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने सहमति पनि भएको छ।

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरिएको छ। साझा कार्यक्रम तयार गर्न नेपाली कम्युनिष्ट पार्टीबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य सदस्य रहेको सात सदस्यीय समिति गठन गरिएको छ।

समझदारीपत्रमा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने उल्लेख छ। उक्त संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव तथा समन्वय गर्नेछ। त्यस्तै, मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति भएको छ। मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेपाली कम्युनिष्ट पार्टी र त्यसपछि राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गर्ने समझदारी भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×