
झापा । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएकामध्ये १२ जना बिरामी परेका छन् । भोजमा सहभागी करिब ५० जनामध्ये केहीलाई पेट दुख्ने, वान्ता हुने र झाडापखालालगायतका समस्या देखिएपछि उनीहरू उपचारका लागि विभिन्न अस्पताल पुगेका हुन् ।
स्थानीय रामकुमार श्रेष्ठको घरमा मंगलबार उनकी नातिनीको न्वारानको अवसरमा भोज आयोजना गरिएको थियो । भोजमा सहभागीमध्ये केहीले स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा स्थानीय फार्मेसीबाट औषधि सेवन गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १२ जना अस्पताल पुगेका हुन् ।
बिरामीमध्ये आठ जनाको बिर्तामोड नगर अस्पताल र चार जनाको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गराइएको छ । उपचारपछि अधिकांशको स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई अस्पतालबाट घर पठाइएको छ । भोजमा सहभागी अन्य केही व्यक्तिले भने अस्पताल नगई औषधि सेवन गरिरहेको बताइएको छ ।
भोजमा प्रयोग गरिएको कुखुराको मासुका कारण स्वास्थ्य समस्या भएको हुन सक्ने आशंका गरिएको छ । भोजका लागि बिर्ताबजारस्थित गणेश फ्रेस हाउसबाट कुखुराको मासु खरिद गरिएको थियो । यद्यपि, बिरामी पर्नुको कारण त्यही मासु हो कि हैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।
घटनाका बारेमा जानकारी पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापा र बिर्तामोड नगरपालिकाको टोलीले भोजस्थल तथा मासु बिक्री गर्ने पसलको अनुगमन गरेको छ । टोलीले भोजमा प्रयोग गरिएको कुखुराको मासुसहित अन्य खाद्य सामग्री र खाना पकाउन प्रयोग गरिएको तेलको नमुना संकलन गरेको हो । तेलको नमुना हल्दीबारीस्थित एक किराना पसलबाट समेत लिइएको छ ।
संकलित नमुना प्रयोगशालामा परीक्षण गरेपछि मात्रै स्वास्थ्य समस्या खानाजन्य विषाक्तता, दूषित खाद्य पदार्थ वा अन्य कारणले भएको हो भन्ने यकिन हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैबीच, गणेश फ्रेस हाउसको अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको पाइएको बिर्तामोड नगरपालिकाले जनाएको छ । खाद्य सामग्री बिक्री गर्ने स्थानमा आवश्यक सरसफाइ कायम नगरेको पाइएपछि सञ्चालक गणेश श्रेष्ठलाई सुधार गर्न निर्देशन दिइएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार फ्रेस हाउसको सरसफाइ सुधार गर्न सञ्चालकलाई तीन दिनको समय दिइएको छ । तोकिएको समयभित्र सुधार नगरे कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।
भोजमा सहभागीमध्ये अस्पताल भर्ना भएका अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ । भोजमा सहभागी अन्य व्यक्तिमा समेत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले उनीहरूको निगरानी भइरहेको छ । प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि मात्रै बिरामी पर्नुको वास्तविक कारण र कुन खाद्य सामग्रीका कारण समस्या भएको हो भन्ने स्पष्ट हुने संग्रौलाले बताए ।

























