
काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीपछि उद्धार तथा राहतका लागि राजनीतिक दलका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरिएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले छुट्टाछुट्टै अपिल जारी गर्दै विपद्को समयमा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । रास्वपा सभापति लामिछानेले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहतमा स्वयंसेवी रूपमा खटिन निर्देशन दिएका छन् ।
उनले बाढी तथा अन्य जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न र प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेका छन् । विपद्को समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना तथा अफवाह फैलाउँदा उद्धार र राहतमा थप समस्या आउन सक्ने भन्दै उनले त्यस्ता गतिविधिबाट जोगिन सबैलाई सचेत गराएका छन् ।
यस्तै, कांग्रेस सभापति थापाले रसुवामा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर बनेको भन्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । थापाले सरकारलाई राज्यका सबै संयन्त्र परिचालन गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गरेका छन् ।
विपद् व्यवस्थापनमा सरकारका प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने उनले बताए । उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाका कांग्रेस नेतृत्व तथा कार्यकर्तालाई तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहत कार्यमा तत्काल परिचालित हुन पनि अपिल गरेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारी निकायसँगै राजनीतिक दल, स्थानीय तह र स्वयंसेवकहरूबीच समन्वय आवश्यक रहेको नेताहरूले बताएका छन् ।



















