
काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछिको अवस्था, राष्ट्रिय संकट, राहत तथा उद्धारबारे उनले सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको उच्चस्तरीय बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको जनाइएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको सचिवालयले जनाएको छ । यसैगरी, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन पनि उनले निर्देशन दिएका छन् ।
बाढी प्रभावितहरूलाई राखिने शिविरहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न, तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि प्रधानमन्त्री निर्देशन दिएको जनाइएको छ ।
बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत् तथा सञ्चार संरचनाहरू यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्य योजनासहित लाग्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

























