
रसुवा । भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएपछि रसुवाको उत्तरगया गाउँपालिकाका स्थानीय जनप्रतिनिधिले तत्काल उद्धार, राहत र पुनःस्थापनामा जुट्न सरकारसँग आग्रह गरेका छन् ।
बाढीको केन्द्रबिन्दु मानिने उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारको उपस्थिति पीडित जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी राहत तथा उद्धारका काम तीव्र बनाउन आग्रह गरेका हुन् । अध्यक्ष अर्यालका अनुसार बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार कर्मचारी अझै बेपत्ता छन् । मृत फेला परेका सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने पहिचान भएपछि दाहसंस्कार गरिएको छ । कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बताए ।
बाढीका कारण वेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको अर्यालको भनाइ छ । उनका अनुसार २०७२ सालको भूकम्पपछि विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवारसमेत प्रभावित भएका छन् । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारहरूसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको उनले बताए । केही मानिस सुरुङभित्र फसेको खबरसमेत आइरहेको जानकारी उनले दिएका छन् ।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुसँग पनि सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बताए । आफन्तहरूले सम्पर्क गरेर आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको उनको भनाइ छ । बाढीपछि सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको र विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कमा समेत समस्या आएको उनले बताएका छन् । मोबाइल बन्द भएका कारण धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको उनको भनाइ छ ।
टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा समेत ठूलो मानवीय क्षति भएको बताउँदै अर्यालले त्यसभन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय क्षति भएको उल्लेख गरे । ठूलो संख्यामा मानिस घरबारविहीन भएको र सुरक्षाकर्मीसमेत बाढीमा परेर बेपत्ता भएको उनले बताएका छन् ।
गम्भीर घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गरे पनि तत्काल उद्धार हुन नसकेको उनको गुनासो छ । कालिकास्थान–जीवजीवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पतालसम्म बिरामी लैजानुपर्ने अवस्था आफूहरूले भोगेको उनले बताए ।
अर्यालका अनुसार नदी किनारमा दर्जनौँ शव देखिएका छन् । केही शव परिवारका सदस्यले पहिचान गरिसकेका छन् । पहिचान भएका शवको दाहसंस्कारका लागि फिल्डमा रहेका प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबिना केही गर्न नमिल्ने’ जवाफ पाएको उनले बताए । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको र बाँकी रहेका कालिकास्थानका इन्स्पेक्टरसहित करिब पाँच–छ जना प्रहरी खाना–पानीको अभावमा समेत खटिरहेको उनले उल्लेख गरेका छन् ।
अध्यक्ष अर्यालले विपद्को यस्तो अवस्थामा सरकारले सामाजिक सञ्जालमा सूचना तथा गतिविधि देखाउनेभन्दा प्रभावित क्षेत्रमा प्रत्यक्ष उद्धार र राहतको अनुभूति हुने गरी काम गर्नुपर्ने बताएका छन् । सहकारी कार्यालयको ‘ब्याकअप’बाट मोबाइल चार्ज गरेर सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट देखिए पनि आफूहरूले भुइँमा त्यसको अनुभूति गर्न नसकेको उनको टिप्पणी छ ।
‘केही क्षेत्रमा बाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्ने गरी काम भएको देखिएको छैन,’ अर्यालले भने । आफू जनप्रतिनिधि भएकाले मात्र नभई आफ्नै कार्यालयका परिवारका सदस्य, आफन्त र सयौँ नागरिक गुमाएको क्षेत्रमै काम गरिरहेको व्यक्तिका रूपमा आफूले वास्तविक अवस्था बोल्नुपरेको उनले बताएका छन् ।
केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट फोन आएर ‘नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न’ आग्रह गरिएकोसमेत अर्यालको गुनासो छ । त्यसको जवाफमा आफूहरूले यस्तो आवाज उठाउनुपर्ने अवस्था नै आउन नदिएर सरकार भएको अनुभूति गराउनुपर्ने बताएको उनको भनाइ छ ।
आफू आबद्ध नेकपा (एमाले)सँग सक्षम, अनुभवी र दूरदर्शी नेतृत्व रहेको दाबी गरिए पनि विपद्को अवस्थामा मैदानमा रहेका कार्यकर्ताको अवस्थाका बारेमा नेतृत्वबाट पर्याप्त खोजी नभएकोप्रति समेत उनले असन्तुष्टि व्यक्त गरेका छन् । दुईपटक केन्द्रीय सदस्य भइसकेको आफूलाई केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीका अन्य नेतृत्वबाट खोजी नगरिएको उनको गुनासो छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने आफूहरूप्रति चासो र चिन्ता व्यक्त गरेको उनले बताए । सुरेन्द्र पाण्डेसहित देशभरका नेता तथा सहयोद्धा साथीहरूले समेत चासो व्यक्त गरेको उनले उल्लेख गरेका छन् ।
एमालेको आकस्मिक सचिवालय बैठक भएको विषय सामाजिक सञ्जालबाट थाहा पाए पनि त्यसलाई परिणाममुखी बनाउनुपर्ने अर्यालको आग्रह छ । ‘परिणामविहीन रूपमा सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ, यसले पीडितलाई थप पीडा दिनेछ,’ उनले भनेका छन् । एमालेको संस्कार र संस्कृति जनताको दुःखमा मैदानमै पुगेर काम गर्ने हुनुपर्ने उनको भनाइ छ ।
हाल उत्तरगया क्षेत्रका करिब ३५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा राखिएको छ । कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उपलब्ध खाद्यान्नले करिब तीन दिन धान्ने अवस्था रहेको अध्यक्ष अर्यालले बताए । प्रभावितहरू विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन् ।
कतिपय स्थानीयले आफ्नै घरमा प्रभावित परिवारलाई आश्रय दिएका छन् । तर, नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि उनीहरूको संवेदनशील अवस्थाअनुसार आवश्यक सहयोग पुर्याउन नसकिएको अर्यालले बताए ।
नदी किनारमा रहेका दर्जनौँ शवका कारण बस्तीमा दुर्गन्ध फैलिन थालेको र यसले संक्रमण तथा स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम रहेको उनले बताएका छन् । बिरामीको संख्या पनि बढ्दै गएकाले तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै मानिस रहेको खबर आएको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको जानकारी अर्यालले दिए । उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
त्रिशूली नदीको वारिपारि फसेका तथा परिवारबाट छुट्टिएका नागरिकको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने उनले बताएका छन् । सहयोग गर्न इच्छुक विभिन्न संघसंस्थासँग समन्वय र आवश्यक सहजीकरण गरिदिन पनि उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यसैबीच, घरबारविहीन नागरिक, बेपत्ता व्यक्तिहरू, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको अध्यक्ष अर्यालले जानकारी दिएका छन् । स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरमा ओझेलमा परेका क्षेत्रका समस्या सम्बोधन हुने र प्रभावित नागरिकले त्यसको अनुभूति गर्न पाउने विश्वास उनले व्यक्त गरेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका नाममा देखावटी गतिविधिभन्दा वास्तविक पीडितसम्म तत्काल सहयोग पुर्याउनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिएका छन् । उनको आग्रह छ, ‘फोटो खिच्न होइन, उद्धार र राहतमा जुटौँ ।’

























