बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १४:२२

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदको आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेका नागरिकको सहयोगका लागि दलका सबै सदस्यले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिइन् । बैठकमा कांग्रेसका नेताहरू सम्मिलित टोलीले बाढीपहिरो प्रभावित क्षेत्रमा गरेको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाबारे पनि छलफल भएको थियो ।

Advertisement

अनुगमनका क्रममा देखिएका समस्याबारे अन्य सांसदलाई जानकारी गराउँदै थापाले विपद्का समयमा देखिएका समस्या समाधानका लागि संसद् तत्काल सञ्चालन हुनुपर्ने बताइन् । ‘विपत्तिका समयमा धेरै समस्याहरू छन्, जसलाई सम्बोधन गर्न सदन छिटोभन्दा छिटो सुचारु हुनुपर्छ । सदन चलेमा मात्र जिल्ला–जिल्लाका पीडित र हराइरहेका व्यक्तिहरूको समस्या बाहिर आउँछ र सरकारलाई जबाफदेही बनाउन सकिन्छ,’ उनले भनिन् ।

थापाले संसद् सञ्चालनका लागि सभामुखसँग छलफल गरिने पनि जानकारी दिइन् । उनले सरकारको राहत वितरण प्रक्रिया प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाइन् । राहत सङ्कलनका लागि सरकारले अपनाएको एकद्वार प्रणाली उपयुक्त भए पनि वितरणका क्रममा भने समस्या देखिएको उनको भनाइ थियो ।

‘राहत सङ्कलनमा एकद्वार प्रणाली ठिक होला, तर वितरणमा स्थानीय र प्रदेश तहलाई नै जिम्मेवार बनाउनुपर्छ,’ थापाले भनिन्, ‘कुन ठाउँमा कति घरधुरी छन्, कसलाई कस्तो राहत आवश्यक छ भन्ने कुरा स्थानीय सरकारलाई जति अरूलाई थाहा हुँदैन। सङ्घीय सरकारले सबै आफैँ गर्छु भन्दा वितरणमा ढिलाइ र अव्यवस्था देखिएको छ ।’

कांग्रेसको स्थलगत अनुगमनका क्रममा विपद् प्रभावित क्षेत्रमा महिला तथा बालबालिकाले निकै कष्ट भोग्नुपरेको पाइएको पनि थापाले बताइन् । उनले महिला तथा बालबालिकाको अवस्थाप्रति सरकार र मानव अधिकारवादी सङ्घसंस्थाको ध्यानाकर्षण गराइन् । उद्धार तथा राहत कार्यमा अनावश्यक भिडभाड नगर्न र उद्धारकर्तालाई सहज वातावरण बनाउन पार्टीका नेता–कार्यकर्ता तथा सांसदहरूलाई आग्रह गरिएको पनि उनले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×