
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित कूटनीतिक ब्रिफिङमा मन्त्री खनालले बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र अन्तर्राष्ट्रिय सहयोगबारे कूटनीतिक समुदायलाई जानकारी दिए ।
उनले भोटेकोशीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा व्यापक क्षति पुर्याएको बताए। बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको र रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका विभिन्न क्षेत्रमा जनजीवन र भौतिक पूर्वाधारमा गम्भीर असर परेको उनले बताए ।
‘यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,’ खनालले भने । सरकारले विपद् भएको पहिलो दिनदेखि नै खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, उपचार र राहतलाई प्राथमिकतामा राखेको उनले बताए । उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघ, प्रदेश र स्थानीय तहका निकायसँगै स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय परिचालित रहेको बताए ।
खनालले विदेशी नागरिकको सुरक्षा र कल्याणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। बेपत्ता विदेशी नागरिकको खोजी तथा पहिचानका लागि परराष्ट्र मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली नियोग र परिवारसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
बाढीको कारण र विकासक्रमबारे सरकारले प्राविधिक विज्ञको सहयोगमा अध्ययन गरिरहेको पनि उनले बताए । खनालले विपद्को सामना गर्न नेपाललाई सहयोग गर्ने भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, क्यानडा, अस्ट्रेलियालगायतका देश तथा युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाप्रति आभार व्यक्त गरे ।

























