
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउन विराट ग्रुपले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।
विराट ग्रुपले आफ्ना कर्मचारी र संस्थाका अध्यक्षको व्यक्तिगत योगदानबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । ग्रुपका कर्मचारीहरूको एक दिनको तलबबाट ४७ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो भने अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा २४ लाख ५० हजार रुपैयाँ थप गरेका छन् ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाका अनुसार कर्मचारी र अध्यक्षको योगदानसहित ७२ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गरिएको हो । विराट ग्रुपले बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोगमा साथ दिने प्रतिबद्धता पनि जनाएको छ । यसअघि नै अध्यक्ष कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा निःशुल्क उपचार उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।
अस्पतालले बाढी प्रभावित तथा घाइतेहरूको उपचारका लागि विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालनसँगै आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, आईसीयू, अस्पताल शय्या, आवश्यक उपकरण तथा पूर्वाधार तयारी अवस्थामा राखेको छ । विपद्बाट प्रभावित महिलाको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै विराट हेल्थकेयर इन्डस्ट्रिज प्रालिले सेनेटरी प्याड, डायपरलगायत आवश्यक सामग्रीसमेत सहयोगस्वरूप पठाएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको विराट ग्रुपअन्तर्गत विराट नर्सिङ होम, विराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराट हेल्थकेयर इन्डस्ट्रिज प्रालि रहेका छन् । विराटले विगतमा पनि विभिन्न विपद्का समयमा प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवामा सहयोग गर्दै आएको छ ।

























