बसाइँसराइसँगै बढ्दो स्वास्थ्य जोखिम, प्राथमिक उपचारको ज्ञानमा जोड

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ०८:४८

काठमाडौं । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ आज (शनिबार) विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । बसाइँसराइका क्रममा हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै आपत्कालीन अवस्थामा जीवनरक्षा गर्न प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपको आवश्यकता औँल्याउँदै दिवस मनाउन लागिएको हो ।

विश्वभर आन्तरिक तथा बाह्य बसाइँसराइ बढिरहेका बेला यस वर्षको दिवसले बसाइँसराइ गर्ने मानिसले सामना गर्नुपर्ने स्वास्थ्य जोखिम र तत्काल आवश्यक पर्ने प्राथमिक उपचारको महत्वलाई केन्द्रमा राखेको छ । नेपाल रेडक्रस सोसाइटीका अनुसार विपद्, बाढीपहिरो, आकस्मिक घटना तथा रोजगारी र अवसरको खोजीमा मानिसहरू एक स्थानबाट अर्को स्थानमा बसाइँसराइ गर्ने गरेका छन् ।

Advertisement

बसाइँसराइको यात्रा सहज नहुने र यस क्रममा विभिन्न स्वास्थ्य तथा मनोसामाजिक समस्या उत्पन्न हुनसक्ने रेडक्रसले जनाएको छ । अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका अवसरको अभाव, आधारभूत स्वास्थ्य सेवामा पहुँचको कठिनाइ, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा तथा संस्कृतिसम्बन्धी अपरिचित अवस्था, भौगोलिक जानकारीको अभाव र प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण नहुनुले बसाइँसराइ गर्ने व्यक्तिलाई थप जोखिममा पार्ने रेडक्रसको भनाइ छ ।

बसाइँसराइका क्रममा निर्जलीकरण, हाइपोथर्मिया, कुपोषण, अत्यधिक थकान, चोटपटक तथा डुब्ने जस्ता समस्या देखिन सक्ने जनाइएको छ । त्यस्तै, असुरक्षित काम गर्नुपर्ने अवस्था, मनोवैज्ञानिक पीडा तथा यात्राका विभिन्न चरणमा शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार तथा हिंसाको जोखिमसमेत रहने रेडक्रसले जनाएको छ ।

यस्ता अवस्थामा प्राथमिक उपचारको ज्ञान र सिपले घाइते वा बिरामीलाई तत्काल सहयोग पुर्‍याउन, स्वास्थ्य अवस्था थप बिग्रन नदिन र सम्भावित मृत्युबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने रेडक्रसले जनाएको छ । महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको छ ।

हालैको भोटेकोशी बाढीका क्रममा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा अन्य प्रतिकार्य गतिविधिमार्फत मानवीय सेवा प्रदान गरेको उदाहरणले पनि यसको महत्व देखाएको रेडक्रसको भनाइ छ । नेपाल रेडक्रसले सरकार, सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग तथा औद्योगिक र व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय गरी प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण र सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

दिवसका अवसरमा रेडक्रसले प्राथमिक उपचारको ज्ञान, सिप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ । साथै, जीवनरक्षा अभियानमा योगदान पुर्‍याउने प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकप्रति सम्मानसहित धन्यवाद व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×