
झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो (जापानिज इन्सेफलाइटिस)विरुद्धको खोप अभियान आज (सोमबार)देखि सुरु हुँदैछ ।
जिल्लामा जेई संक्रमणका साथै यसबाट हुने मृत्यु हुने क्रम बढेपछि स्वास्थ्य कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहलाई समेटेर अभियान सञ्चालन गर्ने भएको हो । असोज १५ गतेसम्म चल्ने अभियानमा ३० वर्षभन्दा माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेईविरुद्धको खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र खोप सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको कार्यालयको भनाइ छ । झापाका १३१ वडामा ९ सय खोप केन्द्रमार्फत अभियान सञ्चालन गरिनेछ । खोप अभियान प्रभावकारी बनाउन करिब ५ सय स्वास्थ्यकर्मी, ६ सय ११ महिला स्वास्थ्य स्वयंसेविका र ३ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए ।
उनका अनुसार जिल्लामा जेईको संक्रमण र मृत्युको अवस्था बढ्दै गएपछि उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिएको हो । हालसम्म झापामा १३ जनामा जेई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सात जनाको मृत्यु भइसकेको दासले बताए । मृत्यु भएका कुनै पनि व्यक्तिले यसअघि जेईविरुद्धको खोप नलगाएको पाइएको उनको भनाइ छ ।
लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरिएको दासले बताए । ‘लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरेका छौँ,’ उनले भने, ‘खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिक अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।’
स्वास्थ्य कार्यालयका अनुसार गर्भवती महिला, यसअघि कुनै पनि खोप लगाएपछि गम्भीर एलर्जी अर्थात् एनाफिलेक्सिस भएको व्यक्ति तथा खोपमा प्रयोग हुने कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले जेईविरुद्धको खोप लगाउनु हुँदैन । त्यस्तै, ज्वरो आएको अवस्थामा तत्काल खोप नलगाई ज्वरो निको भएपछि खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।
जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस मानिसमा सर्ने गर्छ । संक्रमण गम्भीर भएमा यसले मस्तिष्कमा असर पार्ने भएकाले यसलाई मस्तिष्क ज्वरो पनि भनिन्छ ।

























