
काठमाडौं । खेतबारी, घाँस तथा झाडीमा पाइने सङ्क्रमित माइटको टोकाइबाट सर्ने स्क्रब टाइफसको जोखिमप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार निरन्तर उच्च ज्वरो आउनु, अत्यधिक पसिना आउनु, टाउको दुख्नु, झाडापखाला लाग्नु, शरीरमा बिबिरा देखिनु, आँखा रातो हुनु तथा माइटले टोकेको स्थानमा नदुख्ने कालो पाप्रोजस्तो घाउ देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन्।
यस्ता लक्षण देखिएमा आफूखुसी औषधि सेवन नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँग परामर्श लिन मन्त्रालयले आग्रह गरेको छ। समयमै रोग पहिचान गरी उपचार गरेमा जोखिम कम गर्न सकिने मन्त्रालयले जनाएको छ।
स्क्रब टाइफसबाट जोगिन खेतबारी वा झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा र खुट्टा छोपिने बुट लगाउन, घाँस तथा झाडीको प्रत्यक्ष सम्पर्कबाट सम्भव भएसम्म टाढा रहन सुझाव दिइएको छ। घर वरपरको अनावश्यक घाँस तथा झाडी सफा राख्न, मुसाको सम्पर्कबाट टाढा रहन र किरा भगाउने पदार्थ प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
रोगसम्बन्धी थप जानकारी तथा स्वास्थ्य परामर्शका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निःशुल्क ‘हेलो स्वास्थ्य’ नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ।

























