
काठमाडौं । मुटु स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले आज (मंगलबार) विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
मुटुसम्बन्धी रोगको जोखिम, त्यसका लक्षण र रोकथामका उपायको बारेमा जनचेतना फैलाउने उद्देश्यले विश्व मुटु दिवस मनाउन थालिएको हो । सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा दिवस मनाउन सुरु गरिएको थियो । नेपालमा भने सन् २००० देखि विश्व मुटु दिवस मनाइँदै आएको छ ।
यस वर्षको विश्व मुटु दिवसको नारा ‘कुनै पनि पल नछुटाउनुहोस्’ रहेको छ । नाराले मुटुसम्बन्धी समस्या देखिँदा त्यसका संकेतलाई बेवास्ता नगरी समयमै पहिचान र उपचारतर्फ लाग्न प्रेरित गरेको छ ।
मुटु रोगका कतिपय लक्षण सुरुवाती अवस्थामा सामान्यजस्ता देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र आफ्नो स्वास्थ्य अवस्थाप्रति सचेत रहन आवश्यक मानिन्छ । मुटुको धड्कनमा असामान्य परिवर्तन, छातीमा असहजता वा अन्य स्वास्थ्यसम्बन्धी संकेत देखिए त्यसलाई सामान्य ठानेर बेवास्ता नगर्न यस वर्षको अभियानले जोड दिएको छ ।
विश्व मुटु दिवसका अवसरमा मुटु स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र समयमै स्वास्थ्य सेवा लिनुपर्ने सन्देश दिइएको छ ।

























