मोरङ र उदयपुरमा दुर्घटना : दुई जनाको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०७:१७
फाइल फाेटाे

विराटनगर । मोरङ र उदयपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–६ मा दुईवटा मोटरसाइकल ठोक्किएर सोमबार साँझ ६ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को १९ प ७७४७ नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परेर ७७४७ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–७ मिलन चोकका २२ वर्षीय दिलिप विकको मृत्यु भएको छ । गम्भीर घाइते भएका विकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनपालथान–५ का २५ वर्षीय रुपेश सरदार पनि घाइते भएका छन् । अवस्था सामान्य रहेका उनको कोशी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यस्तै, मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–६ किराँत चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार इटहरीबाट गाईघाटतिर जाँदै गरेको को १ क ३४१८ नम्बरको ट्रकको अगाडिको टायर पन्चर हुँदा सोमबार दिउँसो ३ः३० बजेतिर दुर्घटना भएको हो ।

पन्चर भएर अनियन्त्रित भएको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु प्र–०२–००२ प २८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकसमेत सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा घर भएका अन्दाजी ५६ वर्षीय दले पुन मगरको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार दाङको घोराही उपमहानगरपालिका–१३ का अन्दाजी ४५ वर्षीय भानु पुन मगर घाइते भएका छन् । गम्भीर अवस्थाका उनको बीपीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय वीरेन्द्र उराउ र सहचालक सुन्दरहरैँचा–५ का अन्दाजी २२ वर्षीय आकाश पोखरेल सकुशल रहेका छन् । ट्रक चालक उराउलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×