सुन्तलामा रोगको प्रकोप, किसान चिन्तित

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १०:४७
सुन्तलामा रोगको प्रकोप, किसान चिन्तित

भोजपुर । बोटमा लटरम्म फलेका सुन्तला पाक्न नपाउँदै झर्न थालेपछि भोजपुरका किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको छ । फलको भेट्नो कुहिने, फल पहेँलिँदै भुईँमा झर्ने तथा हाँगा र पातमा समेत विभिन्न समस्या देखिन थालेपछि व्यावसायिक सुन्तला खेती गर्दै आएका किसान समस्यामा परेका हुन् ।

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार फल लाग्ने समयमा परेको असिना पानीबाट जोगिएका सुन्तलामा अहिले पहेँलो भएर आफैँ झर्ने समस्या देखिएको छ । उनका अनुसार बगानमा फल झर्नुका साथै हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुने समस्या पनि देखिएको छ ।

‘पछिल्लो समय अनौठो रोग देखिन थालेको छ,’ प्रधानले भने, ‘यो वर्ष फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका किसानलाई ठूलो समस्या पारेको छ ।’ उनले करिब ४२ रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेका छन् ।

त्यस्तै, केही वर्षयता सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या दोहोरिँदै आएको अर्को एक किसानले बताए । रोगको प्रकोपका कारण उत्पादन घट्दै गएको बताइएको छ । भोजपुर नगरपालिका–६ का भीमराज विष्टका अनुसार सुन्तलाका फल बोटमै फुट्न थालेका छन् । समयमै रोगको पहिचान गरी रोकथाम र नियन्त्रण गर्न नसके आगामी दिनमा पूरै बगान प्रभावित हुने जोखिम रहेको उनले बताए ।

सुन्तलाको फल झर्ने तथा बोटमा विभिन्न रोगको प्रकोप बढेपछि किसानले कृषि प्राविधिक र सम्बन्धित निकायसँग तत्काल स्थलगत अध्ययन तथा उपचारको व्यवस्था गर्न माग गरेका छन् । रोगको कारण पहिचान गरी समयमै नियन्त्रण गर्न नसके भोजपुरको व्यावसायिक सुन्तला खेतीमा ठूलो असर पर्न सक्ने किसानको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×