नेपाल–रुस सम्बन्धको समीक्षा र सहकार्य विस्तारमा केन्द्रित हुँदै परामर्श बैठक

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०६:२८

काठमाडौं । नेपाल र रुसबीचको सम्बन्धका विविध पक्षमा समीक्षा तथा सहकार्यका नयाँ क्षेत्र पहिल्याउने उद्देश्यले दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज (बुधबार) काठमाडौंमा हुँदैछ ।

नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर हुन लागेको बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् । रुसका तर्फबाट नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री आन्द्रेई रुडेन्को सहभागी हुनेछन् ।

दुई देशबीच नियमित परामर्श गर्ने तथा द्विपक्षीय सम्बन्धसँगै क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । सोही संयन्त्रअन्तर्गत पहिलो बैठक सन् २००७ मा मस्कोमा भएको थियो भने दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा आयोजना गरिएको थियो ।

तेस्रो बैठकमा नेपाल–रुस सम्बन्धको पछिल्लो अवस्थाको समग्र समीक्षा हुने अपेक्षा गरिएको छ । त्यस क्रममा व्यापार तथा लगानी प्रवर्धन, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल हुनेछ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिस्थितिका साथै बहुपक्षीय मञ्चमा दुई देशबीच हुन सक्ने सहकार्यका विषयसमेत बैठकको एजेन्डामा रहनेछन् ।

त्यसअघि मंगलबार साँझ काठमाडौंस्थित रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’ कार्यक्रममा रुसी उपविदेशमन्त्री रुडेन्कोले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रृसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको जोखिमका बारेमा उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न समस्या विश्वकै लागि ‘अलार्म बेल’ भएको बताएका थिए ।

नेपाल विपद्को सामना गरिरहेका बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको रुडेन्कोले बताएका थिए । रुस आफैँ पनि विभिन्न चुनौती र समस्यासँग जुधिरहेको उल्लेख गर्दै उनले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन सम्भव सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उनले नेपाली विद्यार्थीलाई रुसमा उच्च शिक्षा अध्ययन गर्ने अवसरका बारेमा जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपालका विद्यार्थीका लागि ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने घोषणा गरेका थिए । शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धका महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै रुडेन्कोले यी क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएका थिए ।

रुडेन्कोको नेपाल भ्रमणका क्रममा हुने परामर्श बैठकमा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय प्राथमिकताका साथ उठ्ने अपेक्षा गरिएको छ । त्यसैगरी रुसी सेनामा भर्ती भएका नेपाली नागरिक बेपत्ता तथा मृत्यु भएका घटनासँग सम्बन्धित विषय र मृतकका परिवारलाई क्षतिपूर्तिको सवालमा समेत नेपाली पक्षले रुसी प्रतिनिधिमण्डलसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।

क्षेत्रीय तथा अन्तरराष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चमा नेपालसँग सहकार्य गर्न रुस प्रतिबद्ध रहेको रुडेन्कोले बताएका छन् । मस्कोले नेपालसँगको कूटनीतिक सम्बन्धलाई उच्च महत्व दिएको उनको भनाइ थियो ।

बैठकले लामो समयदेखि कायम नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक, शैक्षिक, सांस्कृतिक र प्राविधिक सहकार्यलाई नयाँ आधार दिने विषयमा महत्वपूर्ण दिशा तय गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×