
विराटनगर । दसैँ, तिहारलगायतका चाडपर्वको सुरक्षालाई लक्षित गर्दै कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा प्रहरी परिचालन गरिएको जनाएको छ ।
चाडपर्वमा बजार, सार्वजनिक यातायात, राजमार्ग, धार्मिक स्थल तथा आर्थिक कारोबार हुने स्थानमा मानिसको चहलपहल बढ्ने र सुरक्षा चुनौतीसमेत थपिने भएकाले प्रहरीले नियमित सुरक्षासँगै विशेष निगरानी र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रु ठगिने, सामान हराउने, चोरी हुने तथा यात्राका क्रममा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।
बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानमा राखिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ र सुरक्षा सहजीकरण गरिने जानकारी खनालले दिए । यात्रुको आवागमन सहज बनाउनुका साथै लामो दूरीका यात्रामा हुन सक्ने समस्या तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्षको प्रभावकारिता प्रहरीको उपस्थितिमा मात्र नभई यात्रुका गुनासा कति छिटो सम्बोधन हुन्छन् भन्नेमा निर्भर रहनेछ । आकस्मिक घटनामा तत्काल परिचालन हुन ४५३ वटा ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्ने व्यवस्था मिलाइको छ ।
त्यस्तै, सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोली परिचालन गरिनेछ । यी संयन्त्रले झैझगडा, आपराधिक गतिविधि तथा आकस्मिक घटनामा प्रहरीको प्रतिक्रिया समय घटाउने अपेक्षा गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउने, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने कार्य नियन्त्रण गर्ने तथा अवैध गतिविधि रोक्न ट्राफिकसहित १७९ स्थानमा संयुक्त चेकजाँचको व्यवस्था मिलाइएको छ । राजमार्गमा सुरक्षित आवागमनका लागि २२ स्थानमा स्कर्टिङको व्यवस्था गरिएको छ भने प्रदेशभर ९८ मोबाइल गस्ती र २१५ पैदल गस्ती परिचालन गरिने जानकारी डीआईजी खनालले दिए ।
उनका अनुसार मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा सुरक्षा उपस्थिति बढाउन ५०३ स्थानमा पिकेट राखिनेछ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ८३ स्थानमा सीमानाकाकेन्द्रित चोरी–तस्करी नियन्त्रण तथा निगरानीको व्यवस्था गरिएको छ ।
सीमानाकाबाट पटाका तथा अन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी चेकजाँच कडा बनाइएको छ । चाडपर्वका बेला अवैध सामानको ओसारपसार तथा सीमावर्ती अपराधको जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको डीआईजी खनालले बताए ।
उनका अनुसार भिडभाड हुने चोक, बजार तथा अन्य सार्वजनिक स्थानमा सिसी क्यामेराबाट निगरानी सुरु गरिएको छ । ‘आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत परिचालन गरी सुरक्षा अवस्थाको अनुगमन गर्ने योजना छ । प्रविधिमा आधारित निगरानीले भिड व्यवस्थापन, शंकास्पद गतिविधिको पहिचान तथा घटनापछिको अनुसन्धानमा सहयोग पुग्छ,’ उनले भने ।
चाडपर्वका बेला दर्शनार्थीको चाप बढ्ने धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ५० स्थानमा विशेष व्यवस्था गरिएको छ । मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय गन्तव्यमा दर्शनार्थी र पर्यटकको सुरक्षित आवागमन, भिड व्यवस्थापन तथा चोरी नियन्त्रण प्रहरीको प्राथमिकतामा परेको प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए ।
सरकारी कार्यालय तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि ३४ स्थानमा र बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा आर्थिक कारोबार हुने स्थानलाई लक्षित गरेर विशेष सुरक्षा व्यवस्था मिलाइएको जानकारी थापाले दिए । उनका अनुसार चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाबाट रकम झिक्ने, किनमेल गर्ने र घरमा नगद तथा गरगहना राख्ने क्रम बढ्ने भएकाले चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि निगरानी बढाइएको छ ।
प्रहरी परिचालनसँगै नागरिकको सतर्कता पनि उत्तिकै महत्त्वपूर्ण
डीआईजी खनालका अनुसार चाडपर्व सुरक्षा योजनाको प्रभावकारिता प्रहरीको संख्या र परिचालन गरिएका टोलीमा मात्र सीमित हुँदैन । सुरक्षा संयन्त्रले जोखिमयुक्त स्थानमा समयमै उपस्थिति जनाउने, सूचना प्राप्त हुनासाथ प्रतिक्रिया दिने र सर्वसाधारणका गुनासा सम्बोधन गर्ने क्षमताले यसको वास्तविक प्रभाव निर्धारण गर्छ ।
विशेषगरी लामो दूरीका यात्रामा हुने ठगी, बजार क्षेत्रमा हुने पाकेटमारी, घर खाली रहेका बेला हुने चोरी, अनलाइन ठगी तथा आर्थिक कारोबारका क्रममा हुन सक्ने लुटपाट नियन्त्रण गर्न प्रहरीको सक्रियतासँगै नागरिकको सतर्कता आवश्यक रहने खनालले बताए । उनका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्दा सामानको सुरक्षा गर्ने, अपरिचित व्यक्तिलाई रकम वा व्यक्तिगत विवरण नदिने, घर छाड्दा सुरक्षाको प्रबन्ध मिलाउने तथा सुरक्षा निकायलाई जानकारी दिने र शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्ने अभ्यासले सम्भावित जोखिम घटाउन सहयोग पुर्याउँछ।
कोशी प्रदेशका १४ वटै जिल्लामा एकैसाथ सुरक्षा योजना कार्यान्वयनमा ल्याएर चाडपर्वलाई सुरक्षित बनाउने व्यापक तयारी गरिएको जानकारी डीआईजी खनालले दिए । ‘परिचालन गरिएका जनशक्ति र सुरक्षा संयन्त्रको प्रभावकारिता नागरिकले अनुभूति गर्ने गरी कार्यान्वयन हुनु आवश्यक छ । चाडपर्वको समयमा सुरक्षा निकायको सक्रियता, प्रभावकारी समन्वय र नागरिकको सहयोगबीच तालमेल मिलाउनुपर्छ । अनि मात्रै सुरक्षित, मर्यादित र भयरहित वातावरणमा चाडपर्व मनाउने लक्ष्य पूरा हुन सक्छ,’ उनले भने ।

























