सामाजिक सञ्जालमा प्रहरीको मनपरी रोक्न कोशीका डीआईजीको निर्देशन, मर्यादा नाघ्नेलाई कारबाही

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार ०६:५९

विराटनगर । प्रहरी संगठनको व्यावसायिक मर्यादा र अनुशासन कायम राख्न कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेका छन् ।

प्रहरी पोसाकमा अमर्यादित भिडियो बनाउनेदेखि संगठनको नेतृत्व र सरकारविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्नेसम्मका गतिविधि बढेको भन्दै उनले त्यस्ता कार्यमा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । प्रहरी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा निर्धारित आचारसंहिता र निर्देशनविपरीत गतिविधि गरिरहेको पाइएपछि प्रदेश प्रहरी प्रमुख खनालले मातहतका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रहरी पोसाकमा टिकटक भिडियो बनाउने, कार्यालयका संवेदनशील स्थानमा भिडियो खिच्ने, फेसबुकमा तस्बिर खिचेर सार्वजनिक गर्ने, अमर्यादित सामग्रीसहितका भिडियो बनाउने तथा सामाजिक सञ्जालमा प्रकाशन गर्ने गतिविधिलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गम्भीर रूपमा लिएको छ । त्यस्ता सामग्रीले प्रहरी संगनको छविमा आँच पुर्‍याउनुका साथै व्यावसायिक मर्यादामाथि प्रश्न उठाउने डीआईजी खनालको ठहर छ ।

त्यस्तै, प्रहरी संगठनको आदेश र अनुशासनविपरीत सामाजिक सञ्जालमा सरकार तथा प्रहरी नेतृत्वविरुद्ध टीकाटिप्पणी गर्ने, आपत्तिजनक प्रतिक्रिया दिने र कमेन्ट गर्ने गतिविधिमाथि पनि निगरानी बढाइएको छ । निर्देशनअनुसार निर्धारित आचारसंहिताविपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्बन्धित अनुगमनकर्ता तथा अधिकारीले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम अभिलेखमा जनिने गरी कम्तीमा नसिहतसम्मको कारबाही गर्न खनालको निर्देशन छ ।

खनालले कारबाहीको विवरण र त्यसबाट प्राप्त नतिजासमेत जाहेर गर्न निर्देशन दिएका छन् । प्रहरी कर्मचारीले अनुशासनविपरीत गतिविधि गर्दा सामान्य सचेत गराएर मात्र छाड्ने प्रवृत्तिप्रति पनि प्रदेश प्रहरी कार्यालयले कडाइ गरेको छ । निर्देशनमा त्यस्ता कर्मचारीलाई सामान्य सचेत मात्र गराएको पाइएमा कारबाही गर्ने अधिकारी र सम्बन्धित कार्यालय प्रमुखलाई समेत कारबाही गरिने चेतावनी डीआईजी खनालले दिएका छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने विषयमा यसअघि पनि पटकपटक परिपत्र जारी गरिए पनि निर्देशनविपरीतका गतिविधि नरोकिएको प्रहरी नेतृत्वको निष्कर्ष छ । पछिल्लो निर्देशनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने, प्रहरी कर्मचारीको व्यावसायिक आचरण कायम राख्ने र संगठनको छवि जोगाउने उद्देश्य राखेको देखिन्छ ।

सामाजिक सञ्जाल व्यक्तिगत अभिव्यक्तिको माध्यम भए पनि प्रहरीजस्तो अनुशासित संगठनमा कार्यरत कर्मचारीका गतिविधिले संगठनको प्रतिष्ठा र जनविश्वासमा प्रत्यक्ष प्रभाव पार्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । त्यसैले प्रहरी पोसाक, कार्यालयको संवेदनशीलता, गोपनीयता र संगठनको अनुशासनलाई ध्यानमा राखेर सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने सन्देश डीआईजी खनालको निर्देशनले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×