कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार ०६:०४

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा रहेकी विनिता खड्का वैदेशिक रोजगारीमा इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले खड्कालाई शुक्रबार राति काठमाडौंबाट नियन्त्रणमा लिएको हो । उनी महाधिवेशन प्रतिनिधिसँग मत माग्दै आफ्नो पक्षमा समर्थन जुटाइरहेका बेला पक्राउ परेको स्रोतले जनाएको छ ।

इजरायल पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमाथि अनुसन्धान गर्ने क्रममा खड्काको नामसमेत जोडिएको प्रहरी स्रोतले जनाएको छ । सोही प्रकरणमा उनको संलग्नताका बारेमा थप अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

यसअघि प्रहरीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरेको थियो । उनीहरूमाथि इजरायल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ । उक्त रकम असुली प्रकरणमा खड्काको भूमिका के थियो भन्ने विषय भने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

खड्का यसअघि २०८२ पुसको अन्त्यमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकी थिइन् । १५औँ महाधिवेशनमा रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् ।

महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मत मागिरहेका बेला उनी ठगी आरोपको अनुसन्धानमा तानिएपछि कांग्रेसको आन्तरिक राजनीतिमा समेत यस घटनाले चासो बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×