
झापा । झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीबाट प्रहरीले तास र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति ११:१५ बजे मेचीनगर-४ स्थित तिरिङ खोलाको छेउमा रहेको झलक राउतको गाईगोठमा तास र जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मेचीनगर-४ का ५८ वर्षीय भवानी प्रसाद गुरागाईं, मेचीनगर-१ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, मेचीनगर-३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, मेचीनगर-५ पाण्डिङ टोलका ३८ वर्षीय डम्बरबहादुर गिरी र मेचीनगर-२ रामनगरका ३० वर्षीय प्रकाश राई छन् ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट गरी ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुक तास बरामद गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

























