
काठमाडौं । नेकपा (एमाले)भित्र पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषय पेचिलो बनेको छ । केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा रिक्त स्थान पूर्ति गर्न शुक्रबार बसेको स्थायी कमिटी बैठकले सहमति जुटाउन नसकेपछि शनिबार पुनः बैठक बस्ने भएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा रिक्त पदमा मनोनयनका लागि विभिन्न नाममाथि छलफल भएको थियो । स्थायी कमिटीका सदस्यहरूले आ–आफ्ना सुझाव र धारणा राखे पनि मनोनयनको विषय टुंगोमा पुग्न नसकेको हो ।
बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन् । उनका अनुसार बैठकमा नेताहरूले मनोनयनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका छन् । सहमति जुट्न नसकेपछि छलफललाई निरन्तरता दिन शनिबारका लागि बैठक बोलाइएको छ ।
शुक्रबारको बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि आफ्नो धारणा राखेकी थिइन् । ११ वर्षपछि पुनः सक्रिय पार्टी जीवनमा फर्किएको उल्लेख गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नु लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलहरूको प्रमुख दायित्व भएको बताएकी थिइन् ।
विगतका राजनीतिक आन्दोलनमा आफू स्वयं सहभागी भएको स्मरण गर्दै भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भएर योगदान दिन आफू सक्रिय राजनीतिमा फर्किएको धारणा राखेको अर्यालले जानकारी दिइन् ।
रिक्त पदमा मनोनयनको विषयसँगै एमालेको स्थायी कमिटी बैठकमा नेताहरूका सुझाव र धारणालाई समेटेर सहमति जुटाउने प्रयास भइरहेको छ । शनिबार बस्ने बैठकले मनोनयनसम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउने नेताहरु बताउँछन् ।

























