फाइल फोटो ।काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन विस्तार र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई केन्द्रमा राखेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो । अभियानमार्फत पार्टीको संगठन सुदृढ बनाउने, महाधिवेशनको तयारी अघि बढाउने र सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने नेकपाको योजना छ ।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन कात्तिक ७ गते हुनेछ । अभियान अवधिमा विभिन्न तहमा भेला आयोजना गरी संगठन विस्तार र पार्टीका गतिविधिलाई प्रभावकारी बनाइनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीको राजनीतिक गतिविधि तीव्र बनाउने तयारीसमेत गरिएको उनले बताए ।
बैठकले पार्टीका आन्तरिक अधिवेशनको कार्यतालिका पनि तय गरेको छ । निर्णयअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन हुनेछ । स्थानीय निर्वाचनपछि जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पार्टीले बनाएको छ ।
पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने विषयलाई पनि नेकपाले प्राथमिकतामा राखेको छ । युवालाई संगठनमा बढी जिम्मेवारी दिने र प्रवासमा रहेका नेपालीका मुद्दालाई पार्टीको प्राथमिकतामा समेट्ने विषयमा बैठकमा छलफल भएको नेता ज्वालाले जानकारी दिए ।
यसैबीच, ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग पनि नेकपाले गरेको छ । राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तारसँगै निर्वाचनको तयारी र सरकारमाथिको राजनीतिक खबरदारीसँग जोड्ने पार्टीको रणनीति छ ।

























