
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार (आज) दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
मंगलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राति भने देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ ।
बुधबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
बिहीबारदेखि भने मौसममा थप बदली हुने देखिएको छ । देशभर साधारणतया बादल लाग्ने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ । यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

























