
घाट,
जसले पर्खिरहेको हुन्छ
हरेक जिउँदो मान्छेलाई
आफ्नो अस्तित्वमा समाहित गराउन।
घाट,
जीवनको दर्शन,
जीवनको आत्मबोध हो।
घुमेर,
फिरेर,
भोगेर,
अन्ततः मानिस त्यहीँ पुग्छन्।
पर्खिरहेको हुन्छ घाटले सधैँ
मान्छेको अन्त्य।
जुन दिन
ऊ बाबुको वीर्यबाट सिञ्चित भएर
आमाको गर्भमा बास लिएको हुन्छ।
फेरि पनि
यो भागदौड छ,
हतार छ,
जित्न बाँकी अर्को युद्धको तयारी छ।
कसैलाई कुल्चनु छ,
कसैलाई उठाउनु छ।
मानको भोक,
अहम्को तृष्णा,
पदको उन्माद,
अन्ततः त्यहीँ पोखिएर बग्ने हो,
पखालिएर बग्छन् जहाँबाट
चिताको अन्तिम खरानी।
आँखा भरिका दृश्यहरू अडिँदैनन्,
मन भरिका चाहनाहरू
अल्झेर बस्छन्।
उड्छ जसरी पहिलो धुवाँ
तिम्रो मुखबाट,
निभ्छ जसरी अन्तिम ज्वाला
अञ्जुलीभरिका पानीबाट।
डढेको ढुङ्गामा रहँदैन कसर।
पखालेर उल्टाइन्छ जसरी,
उसैगरी
मान्छेका अन्तिम रहरहरू डढाएर,
निलेर मान्छेको शरीर,
घाट,
तपस्यारत छ युगौँदेखि
नदी र खोलाको किनारमा।



















