
काठमाडौं । सञ्चार गृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ । कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चार गृहमा भइरहेको धरपकड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको हो।
शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास भएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो। निर्देशनपछि पक्राउ परेका पत्रकारलाई रिहा गर्ने र सञ्चार गृह पुगेका प्रहरी टोली फर्काउने तयारी गरिएको छ।
प्रहरीले नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि अनामनगरस्थित कार्यालयबाट पक्राउ गरिएको थियो। नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली पुतलीसडकस्थित कार्यालय पुगेको थियो भने दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साललाई समेत प्रहरीले फोन गरी सोधपुछ तथा उपस्थितिका लागि बोलाएको थियो।
नेपाल प्रेसमा प्रहरी महानिरीक्षक कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र उनले कानुनी परामर्श थालेको विषयमा समाचार प्रकाशित भएपछि पत्रकारलाई पक्राउ गरिएको हुन सक्ने प्रहरी स्रोतको दाबी छ। यद्यपि, पक्राउ परेका अन्य पत्रकारमाथिको कारबाहीको कारण प्रहरीले स्पष्ट पारेको छैन।
यसअघि प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अपुष्ट तथा भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै संगठनको छवि कमजोर पार्ने गरी भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा नियन्त्रणमा लिन खोजिएको घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकारिता क्षेत्र र विभिन्न व्यक्तिहरूले विरोध जनाएका छन्।
जेनजी अगुवा रवि किरण हमाल, रक्षा वमलगायतले पनि पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको टिप्पणी गरेका छन् ।



















