
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा जुट्न आह्वान गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतमा सहकार्य गरेका शीर्ष वामपन्थी नेताहरूलाई एकताको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश संकटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ उनले भने ।
सम्बोधनका क्रममा प्रचण्डले शान्ति प्रक्रियामा आएदेखि नै तत्कालीन नेकपा एमालेसँग एकताका लागि पटक–पटक पहल गरेको स्मरण गरे । संविधान जारी भएपछि जनताले कम्युनिस्ट पार्टीहरूबाट ठूलो अपेक्षा गरेकाले आफू पुनः एकताको प्रस्ताव लिएर केपी शर्मा ओलीकहाँ पुगेको उनले बताए ।
‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ,’ विगत सम्झिँदै उनले भने, ‘त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो । निर्वाचनमा हामीले झन्डै दुई तिहाइ मत पनि प्राप्त गर्यौँ ।’
निर्वाचनबाट प्राप्त जनमत देशमा सुशासन र समाजवादको आधार तयार पार्ने ‘गोल्डेन अवसर’ भए पनि त्यसलाई जोगाउन नसकिएको उनले स्वीकार गरे । विगतको एकता असफल भए पनि त्यसबाट निराश नभई पाठ सिक्नुपर्ने उनको भनाइ थियो । देश र जनताको हितका लागि पुनः एकता र ध्रुवीकरणको पहल थालिएको उल्लेख गर्दै उनले अहिलेको सहकार्य त्यसैको सुरुआत भएको बताए ।

























