
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर थाना घर भई काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल २०२६ का खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गरिरहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उक्त कारोबार सट्टेबाजीसँग सम्बन्धित रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

























