
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तीमध्ये गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग र कोशी तथा बागमतीका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

























