
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटना गएराति पौने १२ बजेतिर भएको हो ।
कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन् ।
मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै ट्रक चालक फरार भएका थिए । ट्रक चालक फरार भएपछि खोजी गर्दा उनी पक्राउ परेका हुन् ।
ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशीराम चौधरीलाई पक्राउ गरी ट्रकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























