ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:१८

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको मृत्यु भएको हो । डडेलधुराको अजयमेरु गाउँपालिका–१ घर भएका भण्डारीले चलाएको मोटरसाइकललाई आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिएको थियो ।

बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले देवचुलीमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.