
काठमाडौं । नेकपा (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले विश्वमा बढ्दो भू–राजनीतिक तनाव र असमानता अन्त्यका लागि संवाद, छलफल र सहकार्यलाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन्।
साइप्रस कम्युनिष्ट पार्टी (एकेल) स्थापनाको १००औं वार्षिकोत्सवका अवसरमा शनिबार निकोसियामा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता र द्वन्द्वभन्दा संवादलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले विश्वमा बढ्दो आर्थिक असमानता, जलवायु संकट र दक्षिणपन्थी प्रवृत्तिले लोकतन्त्र, सामाजिक न्याय तथा अन्तर्राष्ट्रिय शान्तिमा चुनौती थपिरहेको उल्लेख गरे। शान्ति कुनै शक्तिशाली राष्ट्रको विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो।
ज्ञवालीले श्रमिक अधिकार, सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र किफायती आवास सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको विकास मानवकल्याण तथा लोकतान्त्रिक नियन्त्रणमा उपयोग हुनुपर्ने धारणा राखे।
समाजवादलाई शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्पका रूपमा व्याख्या गर्दै उनले मार्क्सवादी सिद्धान्तलाई प्रत्येक देशको मौलिक इतिहास र सामाजिक परिस्थितिअनुसार लागू गर्नुपर्ने बताए।
नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै ज्ञवालीले एमालेले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतन्त्र, सामाजिक न्याय, समावेशीकरण र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्दै आएको उल्लेख गरे।
नेपालको परराष्ट्र नीति सार्वभौम समानता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा उनले एकेलको शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्राको सफलताको कामना गरेका थिए।

























