
विराटनगर । विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन खोज्दा मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी पतिको हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन छन् । आइतबार राति करिब ९ बजेतिर टाउकोमा फलामको रड प्रहार गरी उनको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनील मिश्रले बुधराममाथि रड प्रहार गरेका थिए । गम्भीर घाइते सोरेनको घटनास्थलमै मृत्यु भएको जानकारी एसपी कटवालले दिए ।
उनका अनुसार कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रेम सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवै मिलेर योजना बनाई उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । घटनापछि फरार भएकी कमलीलाई प्रहरीले सोमबार बिहान करिब साढे ७ बजेतिर घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको फलामको रड बरामद गरेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । पक्राउ परेका दुवैमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

























