तिहारमा झिलिमिली बत्तीको कारोबार, बजार आयातमै निर्भर

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १०:०५

काठमाडौं । तिहार नजिकिएसँगै घर, कार्यालय र पसलहरू झिलिमिली बत्तीले सजिएका छन् । केही वर्षअघिसम्म सहरका ठूला भवनमा मात्र देखिने विद्युतीय बत्तीको प्रयोग अहिले ग्रामीण भेगसम्म विस्तार भएको छ । विद्युत् सुविधा पुगेपछि माटोका दियो र टुकीको विकल्पमा गाउँघरमा पनि रंगीबिरंगी बत्तीको प्रयोग बढेको हो ।

तर, तिहारमा प्रयोग हुने विद्युतीय बत्तीको बजार भने पूर्णरूपमा आयातमा निर्भर छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अनुसार विद्युतीय बत्तीको कुल वार्षिक कारोबारको ८० देखि ८५ प्रतिशत हिस्सा तिहारकै समयमा हुने गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म नेपालले ५५ करोड ९३ लाख ५७ हजार रुपैयाँ बराबरका ३० लाख ५४ हजार ४९२ थान विद्युतीय बत्ती आयात गरेको छ । यसमध्ये एलईडी बत्तीको आयातमा मात्रै ३१ करोड १६ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय बत्ती चीन र भारतबाट आयात हुने गरेको छ । चीनबाट २४ करोड ३१ लाख ६९ हजार रुपैयाँभन्दा बढी र भारतबाट ६ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरका बत्ती आयात भएका छन् । यसबाहेक अमेरिका, दक्षिण कोरिया, ताइवान, यूएई, कुवेत, कतार, फ्रान्स, बेलायत र हङकङबाट पनि थोरै परिमाणमा बत्ती भित्रिने गरेका छन् ।

तिहार नजिकिँदै गर्दा सजावटका सामग्रीको आयात ६५ करोड रुपैयाँ नाघेको व्यवसायीहरूको अनुमान छ । बजारमा विशेषगरी वाटरफल, रोप लाइट, स्ट्रिप लाइट र विद्युतीय दियोको माग बढी छ ।

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रेशम देवकोटाका अनुसार विद्युतीय बत्तीको प्रयोग गाउँसम्म विस्तार भए पनि पछिल्ला वर्षमा यसको खपत वृद्धिदर सुस्ताएको छ । युवा जनशक्ति विदेशिने क्रम बढ्नु पनि खपत वृद्धिदर सुस्ताउनुको एउटा कारण रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.