महाधिवेशनमा करोडौंको आर्थिक चलखेल भएको आरोप निराधारः विश्वप्रकाश शर्मा

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार ११:५७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका आरोपहरू आधारहीन रहेको बताएका छन् । उनले कुनै व्यक्तिले लगाएको आरोप वा दिएको अभिव्यक्तिकै आधारमा करोडौं रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्नु उचित नहुने स्पष्ट पारेका छन् ।

सोमबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीको नेतृत्व परिवर्तनका लागि आफू र गगन थापाले करोडौं रुपैयाँ खर्च गरेको भन्ने आरोपप्रति आपत्ति जनाए । उनले पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूको राजनीतिक तथा आर्थिक अवस्थाबीच तुलना गर्न पनि आग्रह गरे ।

कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम मुछेर अभिव्यक्ति दिंदैमा त्यसलाई कानुनी प्रमाणका रूपमा स्वीकार गर्न नमिल्ने उनको तर्क थियो । सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र प्रचारको पछि नलागी तथ्य, प्रमाण र विवेकका आधारमा धारणा बनाउन उनले आग्रह गरे ।

शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधान, विधि, पद्धति र संविधानअनुसार अघि बढेको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूले गरेको निर्णय कार्यान्वयन भएको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न पनि आग्रह गरे ।

उनले बदलिंदो राष्ट्रिय परिस्थिति र समयको आवश्यकताअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्नेमा जोड दिए । पार्टीलाई व्यवस्थित, चुस्त र योजनाबद्ध रूपमा सञ्चालन गर्दै मुलुकको विकास तथा समृद्धिका लागि योगदान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

शर्माले काभ्रे कांग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा विशेष ध्यान दिन आग्रह गरे । पार्टीको संगठनलाई गाउँ, टोल र जनताको घरदैलोसम्म पुर्‍याउन कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताउँदै उनले अनुभवी नेतृत्व र युवा पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

उनले कार्यकर्तामा आशा, उत्साह र आत्मविश्वास जगाउन सके मात्रै समाजमा पार्टीप्रति नयाँ विश्वास स्थापित गर्न सकिने बताए । अध्ययन, मेहनत, एकता र स्पष्ट योजनाका साथ अघि बढेर पार्टीलाई थप सशक्त बनाउँदै देशको समृद्धिमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.