
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा विशेष कार्यक्रम आयोजना गरी माल्यार्पण तथा कविता वाचन गरिएको छ ।
कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरेकी थिइन् । उनले सोही अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको सालिकमा समेत पुष्प अर्पण गरी सम्मान व्यक्त गरिन् ।
जयन्तीका अवसरमा आयोजित काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रममा त्रिमूर्ति निकेतनकी अध्यक्ष प्रसाईंले, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका कार्यवाहक संयोजक डा. यादव भट्टराई, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्रा. डा. महादेव अवस्थी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले त्रिमूर्तिले देखाएको साहित्यिक तथा सांस्कृतिक मार्गलाई आत्मसात् गर्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरेका थिए ।
उनीहरूले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानलाई स्मरण गर्दै उनीहरूको सिर्जना, विचार र आदर्शलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मान तथा स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले नइ एकेडेमीको संयोजनमा विसं २०६१ मा त्रिमूर्ति निकेतन स्थापना गरिएको हो ।

























