
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत् नेपालीको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी ऐतिहासिक दस्ताबेजसमेत भएको बताएका छन्।
उनले नेपाल संवत् ले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्। नयाँ वर्षले सामाजिक सद्भाव, आपसी एकता र समृद्धिको यात्रालाई थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले समृद्ध कोशी प्रदेशको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान रहेको मुख्यमन्त्री कार्कीले बताएका छन्। हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा सबैको साझा सम्पत्ति र गौरव भएको उनको भनाइ छ।
मुख्यमन्त्री कार्कीले नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सबै नेपालीको जीवनमा सुख, शान्ति र प्रगतिको कामना गरेका छन्।

























