‘घृणा र विध्वंसको प्रवृत्ति त्यागेर सकारात्मक सोचको विकास गरौं’

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १४:०१
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण र सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरे ।

बस्नलायक समाज निर्माणका लागि नागरिकको नैतिक बल, नैतिक भावना र सांस्कृतिक मनोवृत्ति उन्नत हुनुपर्नेमा उनले जोड दिए । अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने भन्दै उनले समाजमा घृणा, षड्यन्त्र र जालझेल बढ्न नहुने बताए ।

‘खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पशुमाथि अन्याय हो, किनकि पशुले मानिसले जस्तो अन्याय र जालझेल गर्दैन,’ उनले भने ।

‘हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ,’ ओलीले भने, ‘विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ । आपसी घृणा, लोभ, छलकपट त्यागेर प्रेम, करुणा र सहकार्यको भावना विकास गर्नुपर्छ ।’

अध्यक्ष ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको टिप्पणी गरे । संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

आफ्नो नेतृत्वको सरकारले गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृहलगायत ठूला सभाहल र रङ्गशाला निर्माणलाई प्राथमिकता दिएको दाबी गर्दै उनले भक्तपुरमा पनि ठूला सार्वजनिक सभाहलको आवश्यकता रहेको औँल्याए ।

भूकम्पले क्षति पुर्‍याएका संरचना, दशरथ रङ्गशाला तथा पोखरा रङ्गशालाको पुनर्निर्माणलाई विकासका उदाहरणका रूपमा प्रस्तुत गर्दै ओलीले विकास भएका संरचना भत्काउने तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गर्ने गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.