कोशीका पाँच जिल्लाका जसपा जनप्रतिनिधिको पद रिक्त

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ०९:४४

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयका आधारमा उनीहरूको पद रिक्त भएको जनाएको हो । पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत काम गरी दल त्याग गरेको भन्दै पार्टीले गरेको निर्णयअनुसार आयोगले बुधबार पद रिक्त गर्ने निर्णय गरेको थियो । आयोगले बिहीबार सूचना प्रकाशित गरी सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

पद रिक्त हुनेमा खोटाङका आठ, इलामका दुई तथा भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना जनप्रतिनिधि छन् । यससँगै जसपा नेपालको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित कुल १८ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागसम्बन्धी जानकारी प्राप्त भएपछि पद रिक्त भएको निर्णय गरिएको आयोगले जनाएको छ ।

पद गुमाउने जनप्रतिनिधिमा उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य तथा नगरकार्यपालिका सदस्य रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.