डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, स्वदेश फर्किए पक्राउ पर्ने सम्भावना

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १३:३९

एजेन्सी । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गरेकी छन्। मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनको स्वदेश फिर्तीलाई चासोका साथ हेरिएको छ। बंगलादेश फर्किएमा उनी पक्राउ परी जेल जानुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

विद्यार्थी नेतृत्वमा भएको जनविद्रोहपछि १५ वर्ष लामो शासनसत्ता गुमाएकी हसिना सन् २०२४ अगस्ट ५ मा भारत पुगेकी थिइन्। प्रदर्शनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो। अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी उनले स्वदेश फर्किएपछि कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन्।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई अदालतले दोषी ठहर गरिसकेको र उनको सुपुर्दगीका लागि भारतसँग अनुरोध गरिएको बताएका छन्। सरकारले यस विषयमा आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ।

हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने इच्छा व्यक्त गर्दै प्रधानमन्त्री रहमानलाई भारतको राजधानी नयाँदिल्लीबाट ढाका फर्कन राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था मिलाउन आग्रह गरेकी छन्। उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले सन् २०२४ अगस्ट ५ मा बंगलादेशी विमानमार्फत भारत पुगेकी हसिनाको स्वदेश फिर्तीको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताएका छन्।

बंगलादेशमा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ। सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बंगलादेश स्वतन्त्र भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ। हसिनाका सहयोगी अबु ओबैदा अरिनका अनुसार आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको सम्मान गर्दै हसिनाले यही दिन स्वदेश फर्कन चाहेको बताएकी छन्।

यसअघि एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले जुनसुकै परिस्थितिमा पनि डिसेम्बरभित्र बंगलादेश फर्किने बताएकी थिइन्। मृत्युसमेतले आफूलाई स्वदेश फर्कनबाट रोक्न नसक्ने उनको भनाइ थियो।

अभियोजन पक्षका अनुसार हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयसीमा गुमाइसकेकी छन्। त्यसैले सजाय कार्यान्वयन रोक्ने कानुनी आधार नरहेको एक अभियोजकले बताएका थिए। बंगलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने संवैधानिक व्यवस्था भए पनि हसिनाले हालसम्म त्यस्तो आग्रह गरेकी छैनन्। उनले अदालतको फैसलालाई भने अस्वीकार गर्दै आएकी छन्।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए। उनको नेतृत्वको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउनुका साथै फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो। निर्वाचनपछि तारिक रहमान नेतृत्वको सरकारले सत्ता सम्हालेको हो।

उता, सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी फेब्रुअरीको निर्वाचनसँगै पुनः सक्रिय राजनीतिमा फर्किएको थियो। हाल उक्त पार्टी बंगलादेशको प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ। हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९७५ मा भएको सैन्य विद्रोहका क्रममा उनीसहित परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। त्यतिबेला देशबाहिर रहेका शेख हसिना र उनकी कान्छी बहिनी भने उक्त घटनाबाट जोगिएका थिए।

तपाइको प्रतिक्रिया
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
बाल शिक्षालाई प्रभावकारी बनाउन कोशीमा प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुँदै 
‘देश उंभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे मन्त्रीहरूसँगको तस्वीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.