पार्टीलाई एक ढिक्का राख्न देउवालाई सुझाव

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १२:४०

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चुलिइरहेका बेला नेताद्वय डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टी एकताका लागि पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेर उनीहरूले पार्टीलाई विभाजनबाट जोगाउन र एकताबद्ध राख्न नेतृत्वले अभिभावकीय भूमिका खेल्नुपर्ने सुझाव दिएका हुन्।

भेटपछि डा. मिनेन्द्र रिजालले पार्टी जुनसुकै हालतमा पनि एकताबद्ध रहनुपर्ने र त्यसका लागि सभापतिले नै सक्रिय पहलकदमी लिनुपर्ने बताएका छन्। उनले आफूहरू कुनै पक्षको बचाउमा नभई समग्र पार्टीको हितका लागि छलफलमा जुटेको प्रष्ट पारे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसमा संस्थापन र इतर पक्षबीच दूरी बढेको छ।

केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको बताउँदै आएको छ। दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा पार्टीभित्र मुठभेडको स्थिति सिर्जना हुन सक्ने भन्दै कोइराला र रिजालले देउवालाई समझदारीको बाटो खोज्न सुझाएका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.