महाधिवेशनको निर्णय जनतासम्म लैजान एमालेको आह्वान, एकताबद्ध भएर अघि बढ्न निर्देशन

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ०९:१७

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट तय भएका राजनीतिक सन्देश, निर्णय र निष्कर्ष जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन देशभरका सबै तहका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमार्फत महाधिवेशनका राजनीतिक, वैचारिक र संगठनात्मक सन्देशलाई जनस्तरसम्म व्यापक रूपमा लैजान भनिएको हो । निर्देशनमा महाधिवेशनले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयासविरुद्ध सशक्त जनमत निर्माण गर्ने र भदौ २३ तथा २४ गते घटेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न जटिल समस्याको विधिसम्मत समाधान खोज्ने स्पष्ट उद्देश्य लिएको उल्लेख गरिएको छ ।

ती दुवै उद्देश्य हासिल गर्न महाधिवेशन सफल भएको पार्टीको निष्कर्ष छ । एमालेले महाधिवेशनका क्रममा प्रतिनिधि चयनदेखि नेतृत्व निर्वाचनसम्म देखिएका बहस, असहमति र विवादहरू अब समाप्त भइसकेको दाबी गरेको छ ।

निर्वाचनका बेला देखिएको समूहगत प्रतिस्पर्धा त्यहीँ टुंगिएको र अहिले पार्टी वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा पुनः एकताबद्ध भएको निर्देशनमा उल्लेख छ । अब पार्टीभित्र कुनै पनि प्रकारको आन्तरिक द्वन्द्व वा विभाजन नरहेको र सम्पूर्ण पंक्ति एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने सन्देश दिइएको छ ।

अन्तरपार्टी निर्देशनमा दोस्रो विधान महाधिवेशनबाट पारित दस्तावेज र एघारौँ राष्ट्रिय महाधिवेशनबाट लोकतान्त्रिक विधिबाट चयन गरिएको नेतृत्वलाई आधार मानेर पार्टीलाई आगामी दिनमा अघि बढाउनुपर्ने स्पष्ट गरिएको छ । आगामी ५ वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा टुंगिएको भन्दै अब पार्टी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न एमाले निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभिनुपर्ने उल्लेख गरिएको छ ।

एमालेले भदौ २३ र २४ गते घटेका घटनालाई राष्ट्रको जीवनमा गम्भीर र दुःखद घटना भएको ठहर गरेको छ । ती घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, संविधानले नचिनेको सरकारले जननिर्वाचित सरकारको स्थान लिएको र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भएको पार्टीको आरोप छ ।

निर्देशनमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको, संविधानलाई कमजोर बनाइएको तथा राष्ट्रको अस्मिता, सार्वभौमसत्ता र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण भएको उल्लेख गरिएको छ । यस्तो परिस्थितिमा मुलुकलाई सही दिशातर्फ फर्काउन एमालेले आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना होस् वा निर्वाचन दुवै मोर्चामा पार्टीपंक्ति पूर्ण एकताका साथ सक्रिय र संघर्षशील रूपमा अघि बढ्नुपर्ने निर्देशनमा स्पष्ट पारिएको छ । साथै पछिल्ला अन्तर्राष्ट्रिय घटनाक्रमले पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्न थप सतर्कता र संघर्ष आवश्यक रहेको पुष्टि गरेको भन्दै पार्टीलाई त्यसअनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

एमालेले महाधिवेशनबाट प्राप्त एकता, स्पष्ट नीति र निर्वाचित नेतृत्वलाई जनताबीच लैजाँदै संगठनलाई अझ मजबुत बनाउने र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने दिशामा केन्द्रित हुन सबै तहका नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.