
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन नदिने र नेताहरूलाई घरबाहिर निस्कन नदिने भनी गरिएका ‘माकाफुइँ’ (खोक्रो गफ) लाई विफल बनाइएको दाबी गरेका छन्। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे यस्तो ब्रिफिङ गरेका हुन्।
अध्यक्ष ओलीले ‘जेनजी’आन्दोलनपछि बदनियतपूर्ण ढङ्गले आफू र आफ्नो पार्टीमाथि लगाइएका आरोपहरूको डटेर सामना गरेको उल्लेख गरे। उनले एमालेलाई कमजोर बनाउन भविष्यमा पनि यस्ता खाले आक्रमणहरू हुन सक्ने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।
राजनीतिक ध्रुवीकरणका बारेमा चर्चा गर्दै उनले नयाँ र पुराना दलबीचको प्रतिस्पर्धा भनिएको कुरामा पूर्ण सत्यता नरहेको बताए। ‘जेनजी आन्दोलनका विध्वंसकारी पक्षधरहरू एक ठाउँमा उभिएका हुन्, यसको विरोध गर्ने र देश बनाउन चाहनेहरू अर्को ठाउँमा उभिने अवस्था आउन सक्छ,’ ओलीले भने।
पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा बोल्दै ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी बाँडफाँटमा कुनै विभेद नगरिने स्पष्ट पारे। उनले आगामी निर्वाचनमा सिङ्गो पार्टी एक ढिक्का भएर होमिनुपर्नेमा जोड दिए।
तीन दिनका लागि आह्वान गरिएको एमालेको केन्द्रीय कमिटी बैठक आजै एकै दिनमा सक्ने तयारी गरिएको छ। आजको बैठकमा महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने र पार्टीको नयाँ नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
























