
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको ‘विशेष महाधिवेशन’ का लागि संस्थापन पक्षका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाइएको छ। भोलि आइतबार र पर्सि सोमबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यस कार्यक्रमका लागि पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशिष्ट अतिथिको रूपमा निम्तो पठाइएको हो।
महामन्त्री पक्षले विधानको धारा उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वान गरे पनि सभापति देउवा नेतृत्वको संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले यसलाई मान्यता दिएका छैनन्। संस्थापन पक्षले यसलाई ‘अवैधानिक भेला’ को संज्ञा दिँदै आफ्ना नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको छ। यस्तै, डा. कोइराला समूहले पनि पार्टी फुटको खतरा औँल्याउँदै यस प्रक्रियाबाट आफूलाई अलग राखेको छ।
विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने संशय बढिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टी नफुट्ने दाबी गरेका छन्। उनले यदि यो महाधिवेशनबाट पार्टी फुट्ने स्थिति आएमा सबैभन्दा पहिले आफू हलबाट बाहिरिने घोषणा गरेका छन्। अर्का महामन्त्री गगन थापाले १५ औँ महाधिवेशन समयमा हुन नसकेकाले पार्टीलाई जीवन्त राख्न विशेष महाधिवेशन अनिवार्य भएको तर्क गर्दै आएका छन्।
भृकुटीमण्डपमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। यता संस्थापन पक्षले भने भोलि नै पार्टी कार्यालयमा ‘युवा भेला’ बोलाएर काउन्टर रणनीति तयार पारेको देखिन्छ, जसले गर्दा भोलिको राजनीतिक माहोल थप तनावपूर्ण हुने अनुमान गरिएको छ।
























