प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १८:५३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफूले रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णय लगभग निश्चित भएको बताएका छन् ।

रुकुम पश्चिममा शनिबार आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले निर्वाचन क्षेत्रमा आफ्नो उपस्थितिले स्थानीय विकास र जनताको सेवामा नयाँ ऊर्जा थप्ने आश्वासन दिएका छन् । प्रचण्डले भने, ‘तपाईंहरूको लागि हेडक्वाटरको ढोका सधैं खुला हुनेछ । मैले पहिलेभन्दा बढी तपाईंहरूको दुःख, सुख र विकास निर्माणको काममा साथ दिनेछु ।’

उनले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा पार्टीको भूमिका सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । पूर्वी रुकुमलाई नेकपा (तत्कालीन माओवादी)को गढ मानिन्छ । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए ।

प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव लडेका छैनन् । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ३ बाट उठेका भए पनि काठमाडौंमा हारेर सिराहाबाट जितेका थिए ।

२०७४ को निर्वाचनमा पार्टीलाई एमालेमा गाभेर चितवन ३ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ पुगेका प्रचण्ड त्यहाँ डा. बाबुराम भट्टराईको साथ पाएर विजयी भएका थिए ।

उक्त सभामा प्रचण्डले आफ्नो साथ छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका रुकुम पश्चिमका नेता जनार्दन शर्माबारे पनि टिप्पणी गरे । उनले भने, ‘भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिन्छ । काँध थाप्न सकिँदैन ।’ उनले जनताको हित, पार्टी एकता र लोकतान्त्रिक मूल्यको संरक्षणमा युवा नेताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.