
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद र त्यसबाट उत्पन्न हुन सक्ने कानुनी तथा प्रक्रियागत जटिलताबारे सचेत देखिएको छ ।
कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको वैधतासम्बन्धी विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएका बेला आयोगले पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र यससँग जोडिएका नियमावली तथा विगतका नजिरहरूको अध्ययन सुरु गरेको हो । आयोग स्रोतका अनुसार उच्च तहका अधिकारीहरू कांग्रेसको विशेष महाधिवेशनबाट आउन सक्ने निर्णयहरू र तिनको वैधानिक प्रक्रियाबारे पूर्वतयारीमा जुटेका छन् ।
महाधिवेशनका क्रममा नेतृत्व परिवर्तन, केन्द्रीय समितिको पुनर्संरचना, विधान संशोधन, नाम, झण्डा वा चुनाव चिह्नसम्बन्धी निर्णय हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आयोगले कानुनी आधार स्पष्ट पार्न खोजिरहेको स्रोतको भनाइ छ । आयोगका एक अधिकारीका अनुसार कुनै पनि राजनीतिक दलको महाधिवेशनबाट भएका निर्णय अन्ततः अद्यावधिकका लागि निर्वाचन आयोगमै आइपुग्ने गर्छन् ।
‘विशेष महाधिवेशनले जे जस्ता निर्णय गरे पनि त्यसको अभिलेख अद्यावधिक गराउन आयोगमा आउनै पर्छ,’ ती अधिकारीले भने, ‘त्यसैले सम्भावित विवाद के–कस्ता आउन सक्छन् भन्ने पूर्वअनुमान गरेर आयोगले आफूलाई तयार राख्नु स्वाभाविक प्रक्रिया हो ।’ उनका अनुसार केन्द्रीय समिति संशोधन, विधान संशोधन वा पार्टीको पहिचानसँग जोडिएका विषयमा निर्णय भएमा आयोगले त्यसलाई राजनीतिक दलसम्बन्धी ऐन र स्वयं दलको विधानका आधारमा परीक्षण गर्नेछ ।
‘प्रक्रिया पूरा गरेर आएको निर्णय भए आयोगले रोक्ने अवस्था हुँदैन,’ ती अधिकारीले भने, ‘तर, वैधता हेर्ने आधार भने प्रचलित कानुन र दलको विधान नै हुन्छ ।’ कांग्रेसको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै परिवर्तन गर्ने वा महत्वपूर्ण नीतिगत संशोधन गर्ने निर्णय गरेमा त्यसले कानुनी मान्यता पाउने प्रक्रिया के हो भन्ने विषयमा आयोग विशेष रूपमा सजग रहेको बुझिन्छ ।
यही कारण आयोगले अहिले नै सम्बन्धित कानुन र नजिरहरूको अध्ययन थालेको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि कांग्रेसभित्र विकसित घटनाक्रमलाई आयोगले नजिकबाट हेरिरहेको बताएका छन् ।
कांग्रेसको आन्तरिक विवादबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले समग्र अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको स्पष्ट पारे । ‘कांग्रेसभित्रको विवाद दलको आन्तरिक विषय हो । त्यसमा आयोग प्रत्यक्ष प्रवेश गर्दैन,’ भट्टराईले भने, ‘तर, आयोगले नजिकबाट हेरिरहेको हुन्छ । अहिले नै केही टिप्पणी गर्ने अवस्था छैन ।’
कांग्रेसभित्र लामो समयदेखि नियमित महाधिवेशन र विशेष महाधिवेशनको वैधतासम्बन्धी विवाद थियो । त्यो विवादबीच विशेष महाधिवेशन आइतबारबाट सुरु भएको छ । विवाद समाधान नभएकै अवस्थामा विशेष महाधिवेशन सुरु भएपछि त्यसबाट उत्पन्न हुन सक्ने कानुनी प्रश्न र दाबी–प्रतिदाबीलाई ध्यानमा राखेर निर्वाचन आयोगले अध्ययन थालेको देखिन्छ ।
























