सुरु भयो कांग्रेसको विशेष महाधिवेशन

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १४:०८

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ ।

कांग्रेसका काठमाडौं सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको हो । लामो समयदेखि पार्टीभित्र देखिँदै आएको सांगठनिक, विधानगत र राजनीतिक विषयमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै बोलाइएको विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक जीवनमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा पार्टीका महामन्त्री गगन थापासहित विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूलाई औपचारिक प्रतिनिधिभन्दा पनि अतिथिका रूपमा सहभागी गराइएको छ । जसलाई पार्टीभित्रको शक्ति सन्तुलन र प्रक्रियागत सन्देशसँग जोडेर हेरिएको छ ।

आयोजक पक्षका अनुसार विशेष महाधिवेशन समितिमा बहुमत सदस्यहरूको सहभागिता सुनिश्चित भएको दाबी गरिएको छ । जसले महाधिवेशनका निर्णयहरूलाई वैधानिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

विशेष महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, विधान संशोधन तथा समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर छलफल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ । पछिल्लो समय कांग्रेसभित्र देखिँदै आएका मतभेद, नेतृत्वप्रति उठिरहेका प्रश्न र सरकार तथा प्रतिपक्षको भूमिकाका बारेमा स्पष्ट दृष्टिकोण तय गर्न विशेष महाधिवेशन निर्णायक हुने नेताहरूको बुझाइ छ ।

यही कारण यस महाधिवेशनलाई नियमित महाधिवेशनभन्दा फरक र राजनीतिक रूपमा संवेदनशील मानिएको छ । आयोजकहरूका अनुसार विशेष महाधिवेशनमा पार्टीको सांगठनिक संरचना, नेतृत्व चयन प्रक्रियामा देखिएका कमजोरी, स्थानीय तहदेखि केन्द्रसम्मको कार्यसम्पादन र भावी राजनीतिक रणनीतिबारे खुला बहस गरिनेछ । महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौती सामना गर्ने स्पष्ट खाका तयार पार्ने लक्ष्य लिइएको छ ।

विशेष महाधिवेशनका क्रममा पारित हुने निर्णयहरूले नेपाली कांग्रेसको आगामी दिशासँगै समग्र राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसैले भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक पुनर्संरचना र राजनीतिक पुनर्स्थापनाको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.