एकता भंगपछि रास्वपाको बन्दसूची फेरबदल, आचार्य प्रत्यक्षमा चुनाव लड्ने

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १४:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग भएको एकता औपचारिक रूपमा भंग भएपछि निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक तर्फको बन्दसूची अद्यावधिक गरेको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै रास्वपाले आयोगमा पेस गरेको संशोधित सूचीमा एकतापछि थपिएका तथा पछि नाम फिर्ता लिएका नेताहरूको स्थानमा नयाँ नाम समायोजन गरिएको छ । रास्वपा र उज्यालो नेपालबीच शनिबार मात्रै एकताको सहमति टुटेपछि आइतबार बिहान पार्टीका प्रतिनिधि निर्वाचन आयोग पुगेर समानुपातिक उम्मेदवारको अद्यावधिक सूची बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार एकता भंग भएसँगै उज्यालो नेपालतर्फबाट बन्दसूचीमा समावेश गरिएका नामहरू स्वतः अमान्य भएकाले सूची सच्याउनुपर्ने अवस्था आएको हो । यसअघि रास्वपाले बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर दुवैतर्फ तीव्र आलोचना भएको थियो ।

समावेशी प्रतिनिधित्व, प्राथमिकता निर्धारण र पार्टीको मूल राजनीतिक सन्देशसँग सूची मेल नखाएको भन्दै व्यापक असन्तुष्टि देखिएको थियो । यही आलोचनाको दबाबपछि बन्दसूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु) र मोहना अन्सारीलगायत नेताहरूले सार्वजनिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए ।

उज्यालो नेपालसँगको एकतापछि समायोजन गरिएका केही नाम र नाम फिर्ता लिएका नेताहरूको रिक्त स्थानमा रास्वपाले नयाँ नामहरू थप्दै बन्दसूची अद्यावधिक गरेको हो । यद्यपि, अद्यावधिक सूचीमा को–को समावेश भए भन्ने विस्तृत विवरण निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरेपछि मात्र स्पष्ट हुने छ ।

यसैबीच, रास्वपाभित्रको आन्तरिक राजनीतिमा अर्को महत्वपूर्ण विकास भएको छ । पार्टीका सहमहामन्त्री विपिन आचार्य समानुपातिक बन्दसूचीबाट बाहिरिएका छन् । उनी खस आर्य समूहअन्तर्गत समानुपातिकतर्फ पहिलो नम्बरमा थिए । आचार्यले समानुपातिक प्रणाली छोडेर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

आफ्नो निर्णयबारे सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले पार्टीभित्रको आन्तरिक बेथिति मात्र नभएर समग्र राजनीतिक र राष्ट्रिय बेथितिविरुद्ध लड्न अब प्रत्यक्ष रूपमा अगाडि आउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले लेखेका छन्, ‘पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाइँमा पर्दा पछाडि जति काम गरे पनि १ दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ । देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ ।’

उनले समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर ‘ब्याक फुट’बाट राजनीति गर्नेभन्दा ‘फ्रन्ट फुट’मा खेलेर जनताको प्रत्यक्ष विश्वास जित्ने समय आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनको बाटो रोजेको स्पष्ट पारेका छन् । आचार्यले आफ्नो यात्रामा साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

रास्वपाले छोटो समयमै एकता, एकता भंग, बन्दसूची विवाद र शीर्ष नेताको उम्मेदवारी मोडजस्ता घटनाहरू सामना गरिरहेको छ । यी घटनाक्रमले पार्टीको आन्तरिक व्यवस्थापन, राजनीतिक रणनीति र आगामी निर्वाचनमा पार्टीले लिने दिशाबारे थप बहस र चासो पैदा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.