विशेष महाधिवेशनले पार्टी फुटाउने प्रयास गर्यो, तर फुट्दैन: देउवा

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ११:५३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले पार्टी विभाजनको प्रयास गरेको आरोप लगाएका छन्। सोमबार बिहान आफूलाई भेट्न आएका संस्थापन पक्षका नेता तथा कार्यकर्तासँग कुरा गर्दै देउवाले यस्तो अभिव्यक्ति दिएका हुन्।

भेटका क्रममा सभापति देउवाले केही समूहले पार्टी फोड्ने कसरत गरिरहेको दाबी गर्दै भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन्, तर कांग्रेस फुट्दैन। यसमा म पूर्ण विश्वस्त छु।’ उनले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई ‘वैधानिक नभएको’ भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

संस्थापन पक्षका नेताहरूसँगको छलफलमा देउवाले विशेष महाधिवेशनको बन्दसत्रबाट आउने निर्णयका आधारमा आफूले आगामी कदम चाल्ने बताए। विशेष महाधिवेशनले नेतृत्व परिवर्तन वा विधान संशोधनका विषयमा लिने निर्णयलाई देउवा पक्षले निकै चासोका साथ हेरिरहेको छ।

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि विशेष महाधिवेशन सुरु भइसकेको छ। आज सोमबारबाट बन्दसत्रका कार्यक्रमहरू अघि बढ्दैछन्। विशेष महाधिवेशन पक्षधरले यो भेलामा महाधिवेशन प्रतिनिधिहरूको स्पष्ट बहुमत सहभागी रहेको दाबी गर्दै आएका छन्। पार्टीभित्रको यो शक्ति सङ्घर्षले नेपाली कांग्रेसलाई औपचारिक विभाजनतर्फ लैजाने हो कि भन्ने आशङ्का राजनीतिक वृत्तमा बढेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.