शेखर कोइरालाको दौडधुप, कानुन व्यवसायीसँग परामर्श

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ११:५५

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्। काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहँदा कोइरालाले आफ्नै सम्पर्क कार्यालयमा समानान्तर छलफल अघि बढाएका हुन्।

कोइरालाको सचिवालयका अनुसार बैठकमा उनी निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी र जिल्ला सभापतिहरूको सहभागिता छ। छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, पार्टीलाई सम्भावित फुटबाट जोगाउन कोइरालाले मध्यमार्गी भूमिका खेल्नुपर्ने भन्दै नेताहरूले आग्रह गरेका छन्।

बैठकमा रोचक पक्ष के छ भने, विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका केही नेताहरू समेत कोइरालाको परामर्शमा सहभागी छन्। आइतबार भृकुटीमण्डपमा भएको उद्घाटन सत्रमा कोइराला निकट मानिने केही केन्द्रीय सदस्यहरू पनि सहभागी भएका थिए। तर, कोइराला स्वयं भने उद्घाटन सत्रमा देखिएका थिएनन्।

विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आगामी भविष्यबारे कानुन व्यवसायीसँग कोइरालाले राय लिइरहेका छन्। संस्थापन पक्षले यो महाधिवेशनलाई ‘अवैधानिक’ भनिरहेका बेला कोइराला समूहको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बन्दसत्रले लिने निर्णयले कांग्रेसको आन्तरिक समीकरणमा कस्तो फेरबदल ल्याउँछ भन्ने विषय कोइरालाको यस छलफलको केन्द्रमा रहेको बुझिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.