रास्वपासँगको एकता प्रयासमा निकै पीडा भोगें : कुलमान

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १२:०२

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रियाका क्रममा आफूले निकै पीडा र अपमान भोगेको दाबी गरेका छन्। कान्तिपुरको पडकास्ट ‘वियोन्ड दि हेडलाइन्स’ मा कुराकानी गर्दै उनले एकताको छोटो अनुभवपछि अब आफ्नो पार्टीलाई देशको पहिलो शक्तिका रूपमा स्थापित गर्ने अभियानमा लाग्ने बताए।

रास्वपासँगको एकता छाडेर १२औँ दिनमा पुनः उज्यालो नेपाल पार्टीमै फर्किएका घिसिङले पुस १४ गतेपछिको अवस्थालाई आफ्नो जीवनकै सबैभन्दा कठिन समयका रूपमा चित्रण गरे। ‘मन्त्री भएको बेला पनि कोठा-कोठा र घर-घरमा पुगेर एकताका लागि वार्ता गरेँ। उहाँहरूले बोलाएको ठाउँमा गएँ, तर कहिल्यै आफ्नो घरमा बोलाइनँ,’ घिसिङले भने, ‘त्यति गर्दा पनि न अगाडि बढ्ने ठाउँ रह्यो, न त पछाडि हट्ने। पब्लिकको ठूलो सहानुभूति भएको पार्टी (रास्वपा) लगभग कोमामा गयो।’

एकतापछि आफूलाई अपमानित गरिएको बताउँदै घिसिङले अब भविष्यमा कुनै पनि दलसँग पार्टी एकता वा ‘मर्जर’ नगर्ने घोषणा गरे। ‘अब कसैसँग पार्टी एकता हुँदैन, कार्यगत एकता होला त्यो बेग्लै कुरा हो,’ उनले स्पष्ट पारे।

घिसिङले अहिले कसैलाई दोष नदिने र शुभकामना मात्र दिने बताए। राजनीति नैतिकता र विश्वासका आधारमा हुनुपर्ने भन्दै उनले अरूलाई अप्ठ्यारोमा पारेर गरिने राजनीति टिकाउ नहुने तर्क गरे। नयाँ शक्ति स्थापित हुनुपर्नेमा जोड दिँदै उनले उज्यालो नेपाल पार्टीलाई अब सशक्त ढङ्गले अगाडि बढाउने दाबी गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.